समुन्द्रको पानी
by ✍🏼 प्रकाश सापकोटा
8/5/2025
(बाल कविता)
विद्यालय बिदा थियो शनिबारको दिन
घर बस्न मन लागेन मलाई किन किन
घुम्न जान पाए पनि जान्थेँ खुशी मानी
एक्लै घुम्न जाने फेरि छैन आफ्नो बानी
ठुस्स परी बस्या थिएँ भेउ नपाएर
थच्च बाबा बस्नुभयो छेउमा आएर
हातको फोन अलि पर फुत्त फाल्नुभयो
किन पिरिएको भन्दै सोध्न थाल्नुभयो
मेरो बाबा भन्दै पुगेँ हात समाउन
बिन्ती गरेँ- लैजानु न आज घुमाउन
सुम्सुम्याउँदै भन्नुभयो- हुन्छ हुन्छ नानी
लैजान्छु म देखाउन समुन्द्रको पानी
उम्की हालौँ उसो भए केको अलमल
उत्तिखेरै अनुहार भयो झलमल
आम्मामामा हेर्दाहेर्दै कत्ति खुशी भएँ
त्यही खुशी ममीलाई सुनाउन गएँ
दायाँ हात बाबातिर बायाँ ममीतिर
खुशी हुन के चाहिँदो रहेछ आखिर
बुरूक् बुरूक् उफ्रिएर फुरूक्क परेर
हत्तारै पो लाग्न थाल्यो पुग्नु कतिखेर
टाढैबाट देखेँ मैले समुन्द्रका छाल
कैले मन्द कैले उग्र बेग्लाबेग्लै चाल
वारपार फैलिएको सफा निलो पानी
एक्लै जानु हुन्न त्यहाँ साना साना नानी
छेउमै गई थोरै पानी हत्केलामा राखेँ
खुल्दुली भो त्यै भएर अलिकति चाखेँ
घुटुघुटु पिएमा त गर्छ होला हानी
नुनिलो पो हुँदो रैछ समुन्द्रको पानी
प्रफुल्लता बढ्दै गयो खुशीको पलमा
हजुरआमा जोडिनुभो भिडियो कलमा
नेपालमा रातै पर्न आँटिसक्यो फेरि
सुत्नै सक्नु भएनछ हामीलाई नहेरी
जूम गरेर देखाइदिएँ मैले तानी तानी
'हेर्नुहोस् त समुन्द्रमा कति धेरै पानी !'
बोल्नुभयो हजुरआमा आश्चर्यै नमानी
'हाम्रै खोलानालाबाट गएको हो नानी !'
(हाल: कोपन्हेगन डेनमार्क)